एजेन्सी, २९ कार्तिक । कतार विश्वकपका लागि फ्रान्सको टोलीमा समावेश गरिएका डिफेण्डर प्रेसनेल किम्पेम्बे बाहिरिएका छन् ।

चोटसँग संघर्ष गरिरहेका किम्पेम्बेले विश्वकपका लागि पूर्णरूपमा फिट नहुने भएपछि आफैं नाम फिर्ता लिएको फ्रेन्च फुटबल संघले जनाएको छ । सोमबार किम्पेम्बे र फ्रेन्च टोलीको डाक्टरबीच छलफलपछि यो निर्णय लिइएको हो ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले किम्पेम्बेको स्थानमा एक्सेल डिसासीलाई टोलीमा समावेश गरेका छन् । उनले फ्रान्सका लागि अहिलेसम्म खेलेका छैनन् ।

यस्तै, यसअघि २५ सदस्यीय टोली घोषणा गरेका डेसच्याम्प्सले फरवार्ड मार्कुस थुरामलाई पनि समेट्दै पूर्ण टोली बनाएका छन् ।विश्वकपका लागि हरेक टोलीले २६ खेलाडी राख्न पाउने छन् ।