नेपालमै पहिलो पटक जनकपुर न्युरो हस्पिटलले ज्येष्ठ नागरिकलाई आजिवन ओपिडी सेवा निःशुल्क दिने

जनकपुरधाम, २९ कार्तिक । मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जनकपुर न्युरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले ज्येष्ठ नागरिकलाई आजिवन न्यूरो ओपिडी सेवा निःशुल्क दिने भएको छ ।
मंगलबार अस्पतालका अध्यक्ष इन्जिनियर अजय राउतले पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १ गतेदेखि यस अस्पतलमा आउने ज्येष्ठ नागरिकलाई निःशुल्क न्यूरो ओपिडी सेवा दिने निर्णय गरेको जानकारी दिए ।
राउतले ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरु पैसाको अभावमा चेकजाँच गराउन असमर्थ हुने भएकोले यस अवस्थालाई दृष्टिगत गर्दै अस्पतालले उनीहरुलाई निःशुल्क न्यूरो ओपिडी सेवा दिने निर्णय गरेको बताए ।
राउतले नेपालमै आफूहरु पहिलो पटक ज्येष्ठ नागरिकका लागि ओपिडी सेवा निःशुल्क सञ्चालन गर्न लागेको बताए ।
यसअघि यस अस्पतालले दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका एक बिरामीलाई मृत्युको मुखबाट जोगाएको थियो ।
अस्पतालका सञ्चालक न्युरो सर्जन डा. विजयकुमार राउतले गम्भीर चोट (craniotomy and evacuation of hematoma) लागेका एक बिरामीको सफल शल्यक्रिया गरी ज्यान जोगाएका थिए । डा. राउतले महोत्तरीको बलबा नगरपालिका–४ पडौलस्थान बस्ने परशुराम यादवका २२ वर्षीय छोरा अनितेशकुमार यादवको गत साउन २ गते सफल शल्यक्रिया गरेका थिए ।
त्यस्तै, गत भदौ ६ गते पनि यस अस्पतालले जनकपुरधाममै पहिलोपटक ‘ब्रेन ट्युमर’ को सफल शल्यक्रिया गरेको थियो ।
६ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी ६० वर्षीया देवसुनर देवीको अस्पतालका सञ्चालकसमेत रहेका न्यूरो सर्जन डा. विजयकुमार राउतलगायत चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको थियो ।
ब्रेन ट्युमरको काठमाडौंलगायतका स्थानमा उपचार गर्दा ४ लाखसम्म खर्च लाग्ने भए पनि जनकपुर न्यूरो हस्पिटलले उनको शल्यक्रिया न्यून शुल्कमा गरेको थियो । अस्पतालका चिकित्सकको टोली देवसुनरको मस्तिष्कको बीच भागमा रहेको पाँच सेन्टिमिटर ठूलो ट्युमरलाई ८ घण्टाको कठिन शल्यक्रियापछि झिक्न सफल भएको थियो ।
यस अस्पतालले नसा च्यापिएको, हात–खुट्टा झम्झमाउने, टाउको दुखेको, मिर्गी आउने र टाउकोभित्र रगत जमेकोलगायत न्युरो सेवासमेत प्रदान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


