जनकपुरधाम, २८ कार्तिक । सत्तारुढ गठबन्धनबाट धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिलकुमार झाले नागरिकता सम्पूर्ण देशवासीको हक रहेको बताएका छन् ।

सत्ता गठबन्धनले सोमबार जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नै झाले नागरिकताबाट वञ्चित भई पीडा भोगिरहेका व्यक्तिहरुको कुरा सुनेर आफू धेरै दुःखी भएको बताएका हुन् ।

झाले आफू नागरिकताबिहीनहरुको आवाजको रुपमा धनुषा–३ मा प्रस्तुत भएको बताए । उनले नागरिकता र पहिचानको विषयमा आफ्नो ३० वर्षे संघर्षमा सम्पूर्ण जनताको सहभागिताका लागि आशा राखेकोसमेत बताए ।

मंसिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताएर यस अभियानमा सहभागी हुन उनले अपील गरेका छन् ।

सभामा बोल्दै सत्तारुढ गठबन्धनबाट धनुषाको ३(ख)को प्रदेशसभा सदस्य पदका उम्मेदवार परमेश्वर साहले जनकपुरधामलाई राजधानी बनाउन मुख्यमन्त्री लालबाबु राउतले बार्गेनिङ्ग गरेको आरोप लगाए ।

उनले पहिलो पटक नाम र राजधानीका प्रस्तावहरु फेल हुँदा प्रदेशसभामा फेरी दोस्रोपटक प्रस्ताव गरिएको र सो प्रस्तावको पक्षमा दुई तिहाई बहुमत पुर्याउनका लागि राउतले बार्गेनिङ्ग गरेको बताए ।

उनले भने, ‘जनकपुरधामलाई राजधानी बनाउन जनकपुरधाम विकास प्राधिकरण मात्रै नभई वीरगञ्ज विकास प्राधिकरण समेत हुनुपर्ने शर्त मुख्यमन्त्री राउतले राखेका थिए । जनकपुरधाम र वीरगञ्ज दुबै यसै प्रदेशमा रहेकाले हामी दूबैलाई विकास प्राधिकरण गठन गरेर जनकपुरधामलाई राजधानी बनाउन सफल भयौँ ।’

साहले मुलुकमा संघियता र लोकतन्त्र जोगाउनका लागि सत्ता गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरे । उनले जनकपुरधामका जनता न्यायप्रेमी, लोकतन्त्र प्रेमी र क्रान्तिकारी रहेकाले यहाँका मतदाता सत्ता गठबन्धनकै पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।