युएईविरुद्वको पहिलो खेलमा नेपाल ८४ रनले पराजित

काठमाडौं, २८ कार्तिक । युएईविरुद्वको एकदिवसिय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । नेपाल सोमबार सम्पन्न खेलमा ८४ रनले पराजित भएको हो ।
२६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र अर्जुन साउदले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।
दीपेन्द्रले ८४ बलमा ६ चौकासहित ५४ रन बनाउँदा ५१ रनको पारी खेलेका अर्जुनले ७९ बलमा पाँच चौका प्रहार गरे । अर्जुनको एकदिवसीय अन्तर्राष्ट्रियमा यो पहिलो खेल हो । गुल्सन झाले अविजित १९ र आसिफ शेखले १२ रन जोडे ।
युएईका लागि आयन खानले चार, बसिल हामिदले दुई तथा रोहन मुस्ताफा, जाहुर खान र अहमद राजाले एक/एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो ।
उसका लागि रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । उनले ७३ बलमा सात चौकासहित ५३ रन बनाए । मोहम्मद वसिमले ४४, वृत्य अरविन्दले ४०, अलिशान शराफुले २९,अहमद राजाले अविजित २७,आयन खानले २६ र बसिल हामिदले १४ रन जोडे ।
नेपालका लागि गुल्सन झाले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट हात पार्दा तीन विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यो जितसँगै युएईले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल बुधबार हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


