धरान, २८ कार्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न कार्यक्रमका साथ विश्व मधुमेह दिवस मनाइएको छ ।

विश्वभरीका स्वास्थ्य संस्थाहरुले हरेक वर्ष नोभेम्बर १४ का दिन यो दिवस मनाउँछन् । प्रतिष्ठानको जेनेरल प्राक्टिस एण्ड ईमर्जेन्सी विभाग तथा इन्टर्नल मेडिसिन विभागको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रारम्भमा ¥यालीको आयोजना गरिएको थियो । प्रतिष्ठानको जीओपीडी प्राङ्गणदेखि सुरु भई धरान रंगशाला पुगेर पुनः प्रतिष्ठानमा फर्किएको उक्त ¥यालीमा प्रतिष्ठानका विभागिय प्रमुख, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थीहरुका साथै केहि स्थानियहरु सहित गरेर २५० भन्दा बढिको सहभागिता रहेको थियो ।

¥यालीको समाप्तीपश्चात भएको मन्तव्य कार्यक्रममा विद्यार्थी कल्याण समाज, जुनियर रेसिडेन्ट कल्याण समाजका प्रतिनिधिहरुले धारणा व्यक्त गरेका थिए ।

यसैक्रममा प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागका एडिसनल प्रोफेसर डा. रबिन मास्के तथा जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभागका एसोसिएट प्रोफेसर डा. अजय कुमार यादवले चिनिरोग, यसको रोकथामका उपायहरु, उपाचार पद्धती आदिका बारेमा विशेष प्रकाश पारे ।

चिनिरोग लाग्नु अगावै ध्यानदिनु पर्ने कुराहरु, स्वास्थ्य खानपिन तथा कसरतले खेल्ने महत्वपूर्ण भूमिका, मोटोपनले निम्त्याउने जोखिमहरु, चिनिरोगका बिरामीहरुले पुर्याउनु पर्ने ध्यान जस्ता विषयहरुमा बोलेका थिए ।