डाक्टर तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

काठमाडौं, २८ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ ।
सर्वोच्च अदालतले डा. कार्कीको उम्मेदवारीसम्बन्धी विवादमा यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको हो ।
निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै डा. तोसिमाको उम्मेदवारी खारेज गरिदिएपछि उनले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश चुडालको इजलासले आयोगको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको थियो ।
उक्त अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले सर्वोच्च अदालतमा भ्याकेट दिएका थिए । सो निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश खतिवडा र श्रेष्ठको इजलासले पनि तोसिमा लाभको पदमा रहेको मान्न नमिल्ने ठहर गरेको हो ।
निर्वाचन आयोगले तोसिमा नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको र उनले सरकारी कोषबाट बैठक भत्ता बुझ्ने हुनाले उनको पद लाभको पद किटान गरी उम्मेदवारी खारेज हुने निर्णय गरेको थियो । अब आयोगको उक्त निर्णय कार्यान्वयन नहुने भएको छ तोसिमाको उम्मेदवारी कायम रहेको छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


