जनकपुरधाम, २७ कार्तिक । सत्तारुढ गठबन्धनबाट धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिलकुमार झाले संविधान कार्यान्वयनका साथै लोकतन्त्र रक्षाका लागि सत्ता गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

‘संविधानको रक्षा, संविधान संशोधनमार्फत सबै क्षेत्र, लिङ्ग, वर्ग, धर्म र समुदायको अधिकार स्थापित गर्नका लागि सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने सम्भव हुने उनको भनाइ छ ।

झाले प्रदेश र संघ दूबैमा सत्ता गठबन्धनकोे पक्षमा मतदान गर्न अपिल गरेका छन् ।

त्यस्तै, धनुषा–३ (ख)का प्रदेशसभा सदस्य पदका उम्मेदवार परमेश्वर साहले प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि दलहरु बिच सहमति कायम गराउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

आफूले गत ५ वर्षको अवधिमा संघियता संस्थागत गर्नका लागि खेलेको भूमिका तथा यस क्षेत्रको विकासका लागि गरेका कामहरुकै आधारमा जनताको घरैदैलोमा पुगेर मत अपिल गरिरहेको उनले बताए ।

उनले भने, ‘प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम सदनमा पहिलो पटक प्रस्ताव हुँदा त्यो प्रस्तावका साथै अन्य प्रस्तावहरु समेत विफल भएको थियो । पछि दोस्रो पटक मैले नै प्रस्ताव लगेपछि दलहरुबिच सामन्जस्यता कायम भएको थियो ।’