एजेन्सी, २७ कार्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार उच्चस्तरीय वार्ता हुने भएको छ ।

मध्यावधि चुनावमा बाइडेनको डेमोक्र्याटिक पार्टीले अप्रत्याशित सफलता हासिल गरेको छ । वार्तामा बेइजिङसँग अमेरिकाको तनावपूर्ण सम्बन्ध सुधारको प्रयास गरिने बाइडेनले बताएका छन् ।

इन्डोनेसियामा जी–२० शिखर सम्मेलनको बैठकमा बलियो भएर सहभागी हुने उनले बताए । अमेरिका र चीनबीच व्यापारदेखि मानव अधिकार र ताइवानको स्वशासित टापुको अवस्थालाई लिएर विवाद छ । तर, बाइडेनले सीसँग स्पष्ट वार्ताको अपेक्षा गरेको बताइएको छ ।

बाइडेनले उत्तर कोरियामा लगाम लगाउन आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई दबाब दिने ह्वाइट हाउसका अधिकारीले बताएका छन् । क्षेप्यास्त्र परीक्षणको रेकर्ड–ब्रेक गरेपछि उत्तर कोरियाले छिट्टै आफ्नो सातौँ आणविक परीक्षण गर्ने डर बढेको छ ।