एजेन्सी, २७ कार्तिक । इंग्ल्याण्डले टी–२० विश्वकपको उपाधि हात पारेको छ । उसले आइतबार सम्पन्न फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

इंग्ल्याण्डले दोस्रोपटक टी–२० विश्वकपको उपाधि उचालेको हो । ऊ यसअघि २०१० मा विजेता बनेको थियो ।

१३८ रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । उसका लागि बेन स्टोक्सले अविजित रहँदै ४९ बलमा पाँच चौका र एक छक्कासहित ५२ रनको अर्धशतकीय पारी खेले ।

कप्तान जोश बटलरले २६,ह्यारी ब्रुक्सले २०, मोइन अलीले १९ र फिल साल्टले १० रन जोडे । पाकिस्तानका लागि हरिस रौफले दुई तथा मोहम्मद वसिम, शहीन शाह अफ्रिदी र शादब खानले एक/एक विकेट हात पारे ।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । उसका लागि सान मसुदले सर्वाधिक ३८ रनको योगदान दिए ।

कप्तान बाबर आजमले ३२, शादव खानले २० र मोहम्मद रिजवानले १५ रन बनाए । इंग्ल्याण्डका लागि साम करनले तीन, आदिल राशिद र क्रिस जोर्डन दुई/दुई तथा बेन स्टोक्सले एक विकेट लिए ।