जनकपुरधाम, २७ कार्तिक । मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमानाका ७२ घण्टा अघिदेखि बन्द हुने भएको छ ।

भारतको मधुवनीस्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपोसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताए ।