जनकपुरधाम, २६ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका शीर्ष नेता शरतसिंह भण्डारीले मधेशलाई अधिकार सम्पन्न बनाउनका लागि संघर्ष जारी रहेको बताएका छन् ।

संविधान संशोधन, नागरिकता समस्या समाधान, प्रदेशलाई अधिकार सम्पन्न बनाउने लगायतका विषय अहिले पनि पूरा हुन नसकेकाले यसका लागि संघर्ष जारी रहेको बताएका हुन् ।

मधेश र मधेशीका लागि लड्ने एकमात्र पार्टी लोसपा रहेको दावी गर्दै सिंहले आफ्नो दलको पक्षमा मतदान गर्न मतदातासँग अपिल गरेका छन् ।

मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनु नै लोसपाको प्रमुख एजेण्डा रहेको उनको भनाई थियो । महोत्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका भण्डारीले यी एजेण्डा पूरा गर्नकै लागि सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको बताए ।

लोसपाले मधेशका साथै पूरै देशकालागि समस्याको रुपमा रहेको नागरिकता समस्या समाधानका लागि एमालेसँग मिलेर समेत काम गरेको स्मरण गराउँदै उनले भने, ‘मधेशको समस्या समाधानका लागि हामीले एमाले जस्तो प्रतिगामी दलसँग मिलेर समेत काम गर्यौँ, अब सत्ता गठबन्धनसँग मिलेर मधेश र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउने दिशामा काम गर्नेछौँ ।’

८ लाख नेपाली युवा जो नागरिकता बिना केही गर्न पाईरहेका छैनन्, उनीहरुको समस्या समाधान पनि हाम्रो प्रमुख एजेण्डा रहेको भण्डारीको भनाइ थियो ।

मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, जनजातीको सवालमा लोसपा मात्रै गम्भिर रहेको दावी गर्दै जनताले लोसपामाथी विश्वास गर्ने दावी गरे ।