काठमाडौं, २६ कार्तिक । कोरोना महामारीमा खटिने प्रयोगशालाकर्मीलाई ‘कोभिड–१९ पीसीआर हिरो’ को सम्मान दिइने भएको छ ।

सरकारी प्रयोगशालाकर्मी संघ नेपालले देशभरका प्रयोगशालाकर्मी मध्येबाट १०० जनालाई ‘कोभिड–१९ पीसीआर हिरो’ को सम्मान दिन लागेको हो ।

संघले शनिबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको छ । देशभरका सरकारी तथा निजी पीसीआर प्रयोगशालामा कोभिड महामारीमा काम गरेका प्रयोगशालाकर्मी मध्येबाट ‘कोभिड–१९ पीसीआर हिरो’ छनोट गरिने संघका अध्यक्ष राजेशकुमार गुप्ताले जानकारी दिए ।

गुप्ताका अनुसार सरकारले कोरोना महामारी घोषणा गरेपछि कम्तिमा ६ महिना पीसीआर परीक्षणमा काम गरेकोले प्रयोगशालाकर्मीले आवेदन दिनसक्ने छन् ।

आवेदनका लागि मंसिर १५ गतेसम्मको समय दिइएको छ । आवेदन प्राप्त भएपछि उच्चस्तरीय कमिटी बनाइ ‘कोभिड–१९ पीसीआर हिरो’ छनोट गरिने अध्यक्ष गुप्ताले जानकारी दिए । उनका अनुसार आवेदन भएपछि विशेष कार्यक्रम घोेषणा गरी सम्मान गरिनेछ ।