काठमाडौं, २६ कार्तिक । काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सुरु भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंगप्रत्यारोण समाज नेपालको संयुक्त अयोजनामा शनिबार सम्मेलनको उद्घाटन भएको हो ।

‘विकासोन्मुख मुलकहरूका लागि मृत्यु पर्यन्त अंगदान र प्रत्यारोपण’ भन्ने नाराका साथ सम्मलेनको उद्घाटन भएको हो ।

उद्घाटन समारोहमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले नेपालमा प्रत्यारोपण कार्यको दिगोपना विकास भइरहेको बारे जानकारी गराए ।

स्वास्थ्य विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले प्रत्यारोपणमा नेपाल सरकारले गर्दै आइरहेको सहयोगबारे चर्चा गरे । त्यस्तै कोरोना कालमा मिर्गौला प्रत्यारोपणका बारे भारतको अनुभव अपोलो अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राध्यापक डा. सन्दीप गुलेरियाले प्रस्तुत गरे ।

भारतकै प्राध्यापक डा. विवेक कुटेले कोरोना महामारीका बेला प्रत्यारोपण कार्यमा भारतले भोगेका अनुभव बताए । उनले विभिन्न मानव अङ्गको प्रत्यारोपणबारे भारतले भोगेका तथ्यहरू प्रस्तुत गरेका थिए । यसैगरी बाल स्वास्थ्य तथा विकास राष्ट्रिय केन्द्र जापानका प्राध्यापक एम. कासाहाराले कलेजो प्रत्यारोपणका सम्बन्धमा आफ्नो अनुभव सुनाए ।

सम्मेलनमा नेपालसहित अमेरिका, जापान, भारत, बंगलादेश, स्लोभानियाका प्रत्यारोपण विज्ञको उपस्थिति रहेको छ । उक्त सम्मेलनमा नेपालका तर्फबाट १६ वटा र विदेशी विज्ञहरुबाट १२ वटा कार्यपत्रहरु पत्र प्रस्तुत हुने सूची रहेको छ ।