एपिएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

काठमाडौं, २६ कार्तिक । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री राष्ट्रिय पुरूष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उसले आज सम्पन्न फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि जितेको हो ।
१८० रनको लक्ष्य एपिएफले ३८.३ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । उसका लागि भुवन कार्कीले ८२ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए
सुमित महर्जनले ३४,प्रदीप ऐरीले २०,सन्दीप जोराले १७,कप्तान शरद भेषवाकरले अविजित १६ र आशिफ शेखले १४ रन जोडे ।
आर्मीका लागि जितेन्द्र मुखियाले दुई तथा सोमपाल कामी,सुशन भारी र विक्रम सोबले एक–एक विकेट लिँदा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ३९ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।उसका लागि रोहितकुमार पौडेलले ५६ बलमा तीन चौकासहित सर्वाधिक ४९ रनको योगदान दिए ।
जितेन्द्र मुखियाले अविजित २४, सुशन भारीले १९, राजेश पुलामीले १८, कुशल मल्लले १६, हरि चौहानले १५, अर्जुन साउदले १३ र कप्तान विनोद भण्डारीले ११ रन जोडे ।
एपिएफका लागि अमरसिंह रौटेला र मौषम ढकालले तीन–तीन तथा किशोर महतोले दुई विकेट लिँदा दुई विकेट रन आउटका रूपमा प्राप्त भयो । विवादका कारण टसमा ढिलाइ भएपछि खेललाई ४० ओभरमा झारिएको थियो ।
उपाधिसँगै एपिएले १० लाख रूपिँया प्राप्त गर्दा उपविजेता आर्मीले पाँच लाख हात पार्यो । त्यस्तै, सेमिफाइनलबाट बाहिरिएका नेपाल पुलिस क्लब र मधेस प्रदेशले समान ५० हजार प्राप्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


