म्यानचेस्टर युनाइटेड कारवाओ कपको चौथो चरणमा

एजेन्सी, २५ कार्तिक । इंग्लिस फुटबल लिग कप (कारवाओ) को तेस्रो चरणअन्तर्गत बिहीबार रातिको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । ऊ घरेलु मैदानमा एस्टन भिल्लाविरुद्ध ४–२ ले विजयी भएको हो ।
ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्टियल, मार्कुस रासफोर्ड, ब्रुनो फर्नान्डेस र स्कट म्याक टोमिनेले एक/एक गोल गरे ।
भिल्लाका लागि ओली वाटकिन्सले एक गोल गरे । उसलाई एक गोल भने आत्मघाती उपहार स्वरूप प्राप्त भयो । खेलमा सुरुआती अग्रता भने पाहुना टोलीले लिएको थियो ।
४८ औं मिनेटमा वाटकिन्सले भिल्लालाई अग्रता दिलाएका थिए । एस्टनको यो अग्रता लामो समयसम्म टिक्न भने पाएन गोल खाएको एक मिनेटपछि नै मार्टियलले युनाइटेडलाई १–१ को बराबरीमा ल्याए ।
६१ औं मिनेटमा डिएगो डालोटले आत्मघाती गोल गर्दा भिल्ला २–१ ले अघि बढयो । ६८ औं मिनेटमा रासफोर्डले गोल गरेपछि घरेलु टोली २–२ को बराबरीमा आयो । ७८ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई ३–२ को अग्रता दिलाए ।
थप गरिएको समयमा टोमिनेले गोल गरेपछि घरेलु टोलीलले ४–२ को जित निकाल्यो । यो जितसँगै युनाइटेडले प्रतियोगिताको चौथो चरणमा स्थान बनाउँदा पराजित भिल्ला बाहिरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


