काठमाडौं, २४ कार्तिक । विभागीय टोली नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । उसले बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई सात विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

१२३ रनको लक्ष्य एपिएफले २१.३ओभरमा तीन विकेट गुमाउँदै भेट्टयो । उसका लागि लोकेश बमले अविजित रहँदै सर्वाधिक ३५ रनको योगदान दिए । प्रदीप ऐरीले ३३,आरिफ शेखले २५ र सुमित महर्जनले १३ रन जोडे ।

मधेसका लागि रूपेश सिंहले दुई तथा राजेश यादवले एक विकेट हात पारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले ३१ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाएको थियो ।

उसका लागि रुपेश सिंहले अविजित रहदै सर्वाधिक ३६ रन जोडे । सन्तोष कार्कीले २०,इमरान शेखले १६,अनिल साहले १३,आदील आलमले ११ र राजेश यादवले १० रन बनाए ।

एपिएफका कमलसिंह ऐरीले चार, भुवन कार्की र मौषम ढकालले दुई /दुई तथा किशोर महतोले एक विकेट लिँदा एक विकेट रन आउटका रूपमा प्राप्त भयो । एपिएफले उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।