काठमाडौं, २४ कार्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएका नियमित–आंशिक–ग्रेडवृद्धि परीक्षार्थीको अन्तिम चरणको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डको बुधबारको बैठकको निर्णयानुसार नतिजा प्रकाशित गरिएको बताइएको छ । गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित कक्षा–१२ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योगका लागि निवेदन दिएका र ग्रेडवृद्धि परीक्षा दिएकाहरूको नतिजा प्रकाशित गरिएको हो ।

परिवर्तित ग्रेडसिट प्राप्त गर्न नतिजा प्रकाशन भएको १० दिनपछि सक्कल ग्रेडसिटसहित बोर्डको कार्यालयमा सम्पर्क गर्न सूचित गराइएको छ ।

परीक्षार्थीले पुनर्योगको नतिजा चित्त नबुझेमा दुई हजार रुपैयाँ तिरेर १५ दिनभित्र बोर्डको सम्बन्धित कार्यालय वा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा निवेदन हालेका उत्तरपुस्तिका हेर्न सक्नेछन् ।