मतदाता रिझाउन उम्मेदवारहरू सक्रिय, जुलीले सडकमै गरिन् भोज !

जनकपुरधाम, २४ कार्तिक । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको समय नजिकिँदै गर्दा उम्मेदवारहरुको बेचैनी बढेको छ ।आचारसंहिताको उल्लंघन गर्दै उम्मेदवारहरु मतदाता प्रभावित पार्न सक्रिय देखिएका छन् ।
राजनीतिक दल र उम्मेदवारहरु आफूलाई बलियो रुपमा प्रस्तुत गर्न तडकभडकमा उत्रिएका छन् । उम्मेदवारले मतदाता प्रभावित पार्न जमघट, सभा र भोजभतेरसमेत गरिरहेका छन् ।
यसैक्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जुलीकुमारी महतो भोजभतेर गरी मतदाता रिझाउन व्यस्त देखिएकी छन् ।
महतोले जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरामा मतदातालाई प्रभावित गर्ने भोजको आयोजना गरेको देखिएको छ । एमाले–जसपाका उम्मेदवार महतो जटही–जनकपुरधाम ६ लेन सडकखण्ड अन्तर्गत देवपुरामा सडकमै आचारसंहिताविपरीत भोजको आयोजना गरेकी हुन् ।
जुलीले मतदाता रिझाउन सडकमै पण्डाल लगाएर भोजको आयोजना गरेको र पण्डालमा महतो र प्रदेशसभा ३ (क)का उम्मेदवार जितेन्द्र यादवको ब्यानर पनि लगाइएको स्थानीयले एक नेताले नाम उल्लेख नगर्ने शर्तमा बताए । उनका अनुसार मासुभातको भोज आयोजना गरिएको थियो ।
एक स्थानीयले भने, ‘यहाँ दैनिकजसो मासुभातको भोज चलिरहेको छ । उम्मेदवार चुनावी प्रचारमा आयो कि मासुसहितको भण्डारा छ भन्ने बुझ्छन् यहाँका जनता ।’ भोजमा बच्चादेखि वृद्धवृद्धासम्म सहभागी हुने उनले बताए ।
यस विषयमा मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसँग छलफल गरी अन्य प्रक्रिया अगाडि बढाइने बताए । उनले मतदातालाई प्रलोभनमा पार्ने हिसाबले कुनै पनि गतिविधि उम्मेदवारले गर्न नपाउने बताए ।
निर्वाचन आयोगले यसअघि गत शनिबार जुलीसँग स्पष्टीकरणसमेत सोधेको थियो । मंसिर ४ गते हुने निर्वाचनका लागि महतोले आफ्नो गाडीको पछाडि चुनावी फ्लेक्स टाँसेर निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसार गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
धनुषा–३ का मुख्य प्रतिस्पर्धी उम्मेदवारहरु धनाढ्य छन् । ‘जनताले मुखै खोल्नुपर्दैन, उम्मेदवार आफैं भोज गर्न तछाडमछाड गर्दै हिँडिरहेका छन’, जनकपुरधाम–२० का एक मदिरा व्यापारीले भने, ‘अहिले सबैभन्दा धेरै व्यापार मासु र मदिराको छ । दिउँसोको भण्डारा र रातिको भोज दुवैमा मदिरा अनिवार्य हुन्छ । दारु र मासुको व्यवस्था नभई चुनावी भाषण सुन्न मान्छे नै जुट्दैनन् ।’
धनुषा–३ को चुनावी नतिजा आंकलन गर्न सजिलो छैन । कारण यहाँको चुनावी नतिजालाई धेरै तवरले प्रभाव पार्छ, जसमध्ये प्रमुख तत्व हो पैसा । यहाँ भेटी नदिई भोट सुरक्षित हुन्न भन्ने भनाइ प्रचलित छ । यस क्षेत्रका उम्मेदवारले जातीय समुदायका अगुवामार्फत उनीहरूको पकड क्षेत्रको मत आफ्नो पक्षमा खसाल्न भेटी चढाउनुपर्छ । अहिले मतदातामा पडक हुने अगुवा रिझाउन उम्मेदवारहरु बेहिसाब पैसा खर्च गर्दैछन् ।
–फरकधार
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


