जर्मन बुन्डेस लिगाअन्तर्गतको खेलमा बायर्न म्युनिख विजयी

एजेन्सी, २३ कार्तिक । जर्मन बुन्डेस लिगाअन्तर्गतको खेलमा बायर्न म्युनिख विजयी भएको छ । ऊ घरेलु मैदानमा एसभी वेर्डर ब्रेमेनविरुद्व ६–१ ले विजयी भएको हो ।
एलियन्ज एरिनामा बायर्नलाई फराकिलो जित दिलाउन सर्ज गिनाब्रीले ह्याट्रिक पूरा गर्दा जमल मुसियाला, लियोन गोर्ट्जका र म्याथिस टेलले एक÷ एक गोल गरे । वेर्डरका लागि एन्थोनी जंगले एक गोल फर्काए ।
खेलको छैटौं मिनेटमै मुसियालाको गोलमार्फत बायर्नले सुरुआती अग्रता लिएको थियो । १० औं मिनेटमा जंगले वेर्डरलाई १–१ को बराबरीमा ल्याए ।
१७ औं मिनेटमा एरिक म्याक्सिम चोउपो मोन्टिङ पेनाल्टीमा चुक्दा घरेलु टोलीले अग्रता लिने अवसर गुमायो । २२औं मिनेटमा गिनाब्रीले बायर्नलाई २–१ को अग्रता दिलाए । २६ औं मिनेटमा गोर्ट्जकाले टोलीका लागि तेस्रो गोल गरे ।
२८ औं मिनेटमा गिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्नले पहिलो हाफमा ४–१ को आरामदायी अग्रता लिएको थियो । ८२ औं मिनेटमा गिनाब्रीले ह्याट्रिक पूरा गरेपछि बायर्न ५–१ ले अघि बढ्यो ।
८४ औं मिनेटमा टेलले गोल गर्दै घरेलु टोलीलाई ६–१ को शानदार जित दिलाए । यो जितसँगै १४ खेलमा ३१ अंक जोडेर शीर्ष स्थानमा कायम रहँदा पराजित वेर्डर समान खेलबाट २१ अंकका साथ सातौं स्थानमा छ ।
लिगअन्तर्गकै अन्य खेलमा उल्भ्सबर्ग, बोचुम र स्टुटगार्टले पनि जित हात पारेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


