त्रिभुवन आर्मी प्रधानमन्त्री कपको सेमिफाइनलमा

काठमाडौं, २२ कार्तिक । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ । उसले समूह‘ए’अन्तर्गतको अन्तिम खेलमा कर्णाली प्रदेशलाई १४० रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
२५५ रनको लक्ष्य पछ्याएको कर्णालीले २८.३ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो । उसका लागि विपिन रावलले ६३ बलमा ६ चौकासहित सर्वाधिक ४८ रनको योगदान दिए ।
अर्जुन घर्तीले १७, प्रकाश जैसीलै ११ र सन्दीप शाहीले अविजित ११ रन जोडे । आर्मीका लागि रोहितकुमार पौडेलले तीन, हरि चौहान र शाहब आलमले दुई–दुई तथा जितेन्द्र मुखिया र सुशन भारीले एक–एक विकेट लिँदा एक खेलाडी उपिस्थत भएनन् ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २५४ रन बनाएको थियो ।
उसका लागि कप्तान विनोद भण्डारीले अविजित रहदै सर्वाधिक ३७ रन बनाए । कुशल मल्ल र रोहित पौडेलले समान ३५, हरि चौहानले ३१, भिम सार्कीले २९, राजेश पुलामी २८, अर्जुन साउदले २० तथा अनिल मण्डलले १७ रन जोडे ।
कर्णालीका प्रकाश जैसीले तीन दीपेन्द्र रावतले दुई तथा दिनेश अघिकारीले एक विकेट हात पारे । यो जितसँगै चार खेलमा ६ अंक जोडेको आर्मी दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गर्दा चारै पराजित कर्णाली विना अंक पुछारमा रहँदै बाहिरिएको छ ।
योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । समूह‘ए’बाट एपिएफ विजेता र आर्मी उपविजेता तथा समूह‘बी’बाट पुलिस विजेता र मधेस प्रदेश उपविजेता बन्दै सेमिफाइन पुगे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


