जनकपुरधाम, २२ कार्तिक । मधेस प्रदेशसहित देशभरिमा मानसिक रोगी बढ्दै गएको एक तथ्यांकले देखाएको छ । मानसिक स्वास्थ्य परार्मश नेपाल (सीएममसी)ले एक कार्यक्रम गरी मानसिक रोगी बढ्दै गएको जनाएको हो ।

सीएमसीका निर्देशक रामलाल श्रेष्ठले बालबालिकामा पनि मानसिक रोग तिब्र गतिमा बढ्न थालेको बताए । हरेक ८ जना बालबालिकामा एकजना मानसिक रोगी देखापरेको उनले जानकारी दिए । उनका अनुसार १३ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा ५.२ प्रतिशत मानसिक स्वास्थ्य रोग देखिएको हो । त्यो भन्दा माथि उमेरमा १० प्रतिशतको हराहारीमा मानसिक रोगी फेला पर्न थालेको तथ्यांमा उल्लेख छ । २३÷२४ उमेर समुहमा पुग्दा यी समस्याका रोगी झन ७५ प्रतिशत मानिसमा देखिने गरेको उनको भनाइ छ ।

यी समस्या बढ्दै गएपनि उपचारमा सहजता नदेखिएको उनले बताए । ग्रमीण भेगका जनता उपचारबाट बञ्चित रहेको उनले गुनासो गरे । मधेस प्रदेशमा आर्थिक, सामाजिक र वेरोजगारीका कारण मानसिक रोगी बढ्दै गएको देखिएको छ । ‘पहिले लुकाउने, रूढिवादीमा विश्वास गर्ने जस्ता कारणले मानसिक रोगी बढ्दै गएको छ,’उनले भने,‘आत्महत्या पनि यसले नै बढाइरहेको छ ।’

स्थानीय सरकारले यस प्रकारको समस्या समाधान गर्न काम नगरेको पाइएको छ । केन्द्रीय सरकारको स्वास्थ्य मन्त्रालयको कुल बजेटबाट मात्र एक प्रतिशत मानसिक रोग उपचारको लागि छुट्याइएको छ । गरिबी, एकल महिला र जेलका कैदीहरु मानसिक रोगको बढी जोखिममा छन् । परिचय पत्र पाउनु पर्ने व्यक्तिले नपाएको उनको आरोप छ ।