काठमाडौं, २२ कार्तिक । पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नरेश थापा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार थापालाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले उनलाई नियुक्ती पत्र हस्तान्तरण गरे । एन्फाले मैत्रीपूर्ण खेलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । नेपाल र पाकिस्तानबीचको एक मैत्रीपूर्ण खेल ३० कार्तिकमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

मैत्रीपूर्ण खेल साँझ ५ बजे सुरु हुने एन्फाले जनाएको छ । फिफाको निलम्बन फुकुवापछि पाकिस्तानको सिनियर पुरुष टोलीको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।

अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि नेपाल नियमित मुख्य प्रशिक्षकविहीन रहँदै आएको छ । यसअघि बंगलादेशविरुद्धको मैत्रीपूर्णमा प्रदीप हुमागाँईले टोली हेरेका थिए ।