काठमाडौं, २१ कार्तिक । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ ।

गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रचण्डलाई प्रचारप्रसारमा टोपी प्रयोगका सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो ।

त्यस्तै, महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लोसपा अध्यक्ष ठाकुरलाई प्रचारप्रसारमा बालबालिकालाई आफ्नो निर्वाचन चिन्ह अंकित पम्पलेट लिई वितरण गर्न हिंडिरहेको देखिने सामग्री संलग्न गरेको सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लामिछानेलाई पनि निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले जारी गरेको विज्ञप्तिमा तिनजनै उम्मेदवारलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।