एजेन्सी, २१ कार्तिक । तान्जानियामा आइतबार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

प्रधानमन्त्री कासिम माजालिवाले दर्जनौं यात्रुसहितको प्रेसिजन एयरको उडान लेक भिक्टोरियामा डुबेको बताएका छन् ।

‘यस दुर्घटनामा ज्यान गुमाएका १९ जनाको शोकमा सबै तान्जानियावासीहरू तपाईंसँग छन्,’ माजालिवाले बुकोबा एयरपोर्टमा पुगेपछि त्यहाँ जम्मा भएको भीडलाई भनेका थिए ।

यस विमान यात्रामा रहेका ४३ यात्रु्रमध्ये २४ जना बाँच्न सफल रहेका र बाँचेकाहरूलाई लेकसाइड शहरको अस्पतालमा लगिएको बताइएको छ ।

अस्पतालमा भर्ना बिरामीमा दुई जना विमानमा सवार नरहेका पनि रहेका एयरलाइन अधिकारीले एएफपीलाई जानकारी दिएका छन् ।

स्थानीय मिडियामा प्रसारित भिडियो फुटेजले विमान ठूलो मात्रामा डुबेको देखाएको छ, जसमा माछा मार्नेहरूलगायत उद्धारकर्ताहरूले मानिसहरूलाई सुरक्षित स्थानमा ल्याउन पानीमा हिँडिरहेका थिए ।