एजेन्सी, २१ कार्तिक । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेश र मधेस प्रदेशबीच सोमबार सम्पन्न खेल बराबरीमा सकिएको छ ।

१९१ रनको लक्ष्य पछ्याएको बागमतीले चार बल बाँकी छँदा सबै विकेट गुमाउँदै १९० रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।

बागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ४० रनको योगदान दिँदा रीत गौतमले ३२ र इशान पाण्डेले ३१, सूर्य तामाङले २८ र विवेक मगरले २५ रन जोडे ।

मधेसका लागि प्रदीप पास्वान र राजेश यादवले तीन–तीन र रुपेश सिंहले दुई तथा हरिशंकर साहले एक विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मधेस प्रदेशले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको थियो ।

उसका लागि रोहन विकले ९४ बलमा ६ चौका र दुई छक्कासहित ६३ रनको अर्धशतकीय पारी खेले । सन्तोष कार्कीले २३, राजेश यादवले १६, कप्तान हरिशंकर साहले १३ र विशाल शुस्लिङ्गले ११ रन जोडे ।

बागमतीका लागि नन्दन यादव र सूर्य तामाङले तीन–तीन तथा रामनरेश गिरी र प्रतिश जिसीले दुई–दुई विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यो नतिजासँगै तीन खेलमा पाँच अंक जोडेको मधेस प्रदेशले समूह‘बी’बाट सेमिफाइनलमा स्थान सुरक्षित गर्दा चार खेलबाट एक अंकका साथ बागमती पुछारमा रहँदै बाहिरिएको छ ।