देशलाई जोड्ने नेतृत्व आवश्यक भएकोले सत्ता गठबन्धनको पक्षमा मतदान गर्न प्रवक्ता महतको आग्रह

जनकपुरधाम, २१ कार्तिक । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशलाई जोड्ने नेतृत्व आवश्यक भएकोले सत्तारुढ गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
नेपाल प्रेस यूनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले नेकपा एमालो अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै ओलीले आफ्नै पार्टीलाई जोडेर राख्न नसकेकोले देशलाई उनको नेतृतवको सरकारले जोड्नसक्ने दावी गर्नु दिवास्वप्न मात्रै भएको बताए ।
उनले नेपाली कांग्रेसको नेतृत्व सहिष्णु र काम बढि तथा कुरा कम गर्ने नेतृत्व रहेकोले आगामी निर्वाचनपश्चात देशमा कांग्रेसकै नेतृत्वमा फेरि सरकार बन्ने दावीसमेत गरेका छन् ।
प्रवक्ता महतले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानको उपलब्धिको रक्षा गर्दै यसमा आवश्यक संशोधन र परिमार्जन गर्दै यसै संविधानलाई टेकेर अगाडि बढ्ने बताएका छन् ।
महतले आगामी निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनका उम्मेदवारहरुको पक्षमा मतदान गर्न मुलुकभरिका जनता खुलेरै लागेको देखिएकोले अगामी सरकार काँग्रेसको नेतृत्वमा बन्ने पक्का भएको दावी गरे ।
हुलाकी राजमार्गको निर्माणमा भएको व्यवधानलाई हटाएर गति दिएको र नागरिकता विधेयक ल्याउँदा एमालेका अवरोधका कारण लागु गर्न नसकेको बताउँदै प्रवक्ता डा. महतले काँग्रेसको नेतृत्वमा बन्ने अगामी सरकारले नागरिकता समस्याको समाधान गर्ने जिकिरसमेत गरे ।
प्रवक्ता डा. महतले विगतमा विग्रेको परराष्ट्र सम्बन्धलाई पनि कांग्रेस नेतृत्वको गठबन्धन सरकारले सुधार गरेर समानताको आधारमा सन्तुलित बनाएको बताए ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पजियार सहितका काँग्रेसका जिल्ला नेताहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


