जनकपुरधाम, २१ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर–३ का केही उम्मेदवारहरूद्वारा पैसाको खोलो बगाउन थालिएसँगै त्यसको चौतर्फी आलोचना हुन थालेको छ ।

जलेश्वरमा आयोजित एक भेलालाई सम्बोधन गर्दै तमलोपा अध्यक्ष वृषेशचन्द्र लालले कडा कटाक्ष गरेका छन् । उनले निर्वाचन लोकतन्त्रलाई टेवा दिने मुख्य आधार स्तम्भ रहेको र जनताले योग्य, कर्मठ, जवाफदेह उम्मेदवार छान्न सक्ने आधार नै विथोल्नेहरू लोकतन्त्रलाई ध्वस्त पार्ने आशंका व्यक्त गरे ।

‘आफ्नो योग्यता र उपयुक्ततामाथि विश्वास नहुनेहरु नै यस्तो गर्दछन्, उनले भने,‘ जात, धर्म वा अन्य कुनै आधारमा समाजलाई विखण्डित गर्नेहरू निर्वाचनलाई बदनीयतले प्रयोग गर्दछन् । विभाजन गर्न खोज्नेहरू एजेन्डारहित हुन्छन् । उनी सही जनप्रतिनिधि हुन सक्दैनन् । त्यसैले जनताले योग्य, कर्मठ र एजेन्डा सहितकालाई छान्न मुखर हुनु पर्ने आवश्यकता छ ।’

वृषेशचन्द्र लाल महोत्तरी–३ का चर्चित उम्मेदवार हुन् । उनको समर्थन बढ्दै गइरहेको र गठबन्धनका उम्मेदवारहरू नीकै मुश्किलमा पर्दै गइरहेको स्पष्ट देखिन्छ ।

लालले जलेश्वरकै अर्को कार्यक्रममा ‘गठबन्धन सीट सुरक्षा गर्न, अरुलाई आउन नदिन अहिले राजनीतिक क्षेत्रलाई जकडेका असफल नेताहरूको वर्चस्ववादी षडयन्त्रले गरिएको सीटबन्धन हो’ भन्दै एजेन्डा, कार्यक्रम वा खास राजनीतिक लक्ष्य बिनाको अल्टुराम–पल्टुरामको सीटबन्धन तोडिनु पर्ने जेनरेशन लौकको तालाबन्दी खोल्नु पर्ने नै आजको जरुरी आवश्यकता भएको बताए । जिन्दगी भरी बहुदलीयताको नारा दिनेहरू गठबन्धनको नाममा बहुदलीय प्रतिस्पर्धाको घाँटी रेटिरहेको उनको आरोप थियो ।

‘बाढी नियन्त्रण, युवाहरूको रोजगार, गुणस्तरीय शिक्षा र स्वास्थ सेवाको चिन्ता कसैलाई भएको देखिएन तमलोपा यसको निमित्त प्रतिवद्ध रहने छ, उनले भने, ‘दुई दशक अघि जलेश्वरका महत्वपूर्ण किमती जग्गा सस्तोमा इन्जीनीयरिंग कलेजको नाममा कब्जा गरेको मणिपाल ग्रुप बेचिएर गएको छ । यस सौदेबाजीमा संलग्नहरू कलेज बन्दै छ भनेर जनता ठग्ने काम गरिरहेका छन् । अर्बौंको जग्गा कब्जा र व्यक्तिहरुको नाममा ल्याइने खेल भइरहेको छ । कि त मणिपालले कलेज बनाउनु पर्यो होइन भने ती जग्गा किसानले फिर्ता पाउनु पर्दछ ।’