एजेन्सी, १९ कार्तिक । इंग्ल्याण्ड अस्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उ शनिबार सम्पन्न सुपर–१२ अन्तर्गत समूह ‘एक’को अन्तिम खेलमा श्रीलंकालाई चार विकेटले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।

इंग्ल्याण्डको यो जितसँगै साबिक विजेता अस्ट्रेलिया भने सुपर १२ बाटै बाहिरिएको छ । १४२ रनको लक्ष्य इंग्ल्याण्डले दुई बल बाँकी छँदा ६ विकेट गुमाउँदै भेट्टायो ।

उसका लागि एलेक्स हेल्सले ३० बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ४७ रनको योगदान दिए । बेन स्टोक्सले अविजित ४२ र कप्तान जोश बटलरले २८ रन जोडे । श्रीलंकका लागि लाहिरु कुमार,वानिन्दु हसरंगा र धनन्नजय डि सिल्भाले दुई–दुई विकेट लिए ।

त्यसअघि सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएको थियो। उसका लागि ओपनर पथुम निशंकाले अर्धशतकीय पारी खेले ।

४५ बलको सामना गरेका उनले पाँच छक्का र दुई चौकासहित सर्वाधिक ६७ रन बनाए । त्यस्तै, भानुका राजापाक्षेले २२ र कुशल मेन्डिसले १८ रन जोड्दा बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

इंग्ल्याण्डका लागि मार्क उडले तीन,बेन स्टोक्स,साम करन,आदिल राशिद र क्रिस वोक्सले एक–एक विकेट लिँदा एक विकेट रन आउटका रुपमा प्राप्त भयो ।

यो नतिजासँगै पाँच खेलमा समान सात अंक भए पनि नेट रनरेटका आधारमा न्युजिल्यण्ड समूह विजेता र इंग्ल्याण्ड उप विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्दा अस्ट्रेलिया बाहिरियो ।

पराजित श्रीलंका पाँच खेलमा चार अंकका साथ चौथौ, तीन जोडेको आयरल्याण्ड पाँचौँ तथा अफगानिस्तान दुई अंकका साथ अन्तिममा रहे ।