काठमाडौं, १९ कार्तिक । निर्वाचन आयोगले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

डा. झाले आगामी निर्वाचनमा सप्तरीको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रचारप्रसार गरेको देखिएको छ ।

निर्वाचन आचारसंहिता,२०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्थाविपरीत डा. झाले अध्यक्ष यादवको प्रचारप्रसार गरेको आयोगले जनाएको छ ।

आयोगको स्पष्टीकरणमा भनिएको छ, ‘उल्लिखित सन्दर्भमा तपाईंले दलका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता,२०७९ र प्रचलित सार्वजनिक सेवा सम्बन्धी कानून समेतको उल्लंघन हुन्छ, हुँदैन ? तपाईंबाट उक्त कार्य भएको भए किन कानून बमोजिम कारवाही हुनु नपर्ने हो ?’