काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोल त्रिभुवन आर्मी क्लबले जित हात पारेको छ । उसले आज सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिम प्रदेशलाई १६९ रनले हराउँदै पहिलो जित हात पारेको हो ।

२८३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९.४ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो । उसका लागि वसन्त खत्रीले सर्वाधिक २५ रनको योगदान दिए ।

नारायण जोशीले १९,गजेन्द्र भण्डारीले १७,टेक रावलले १५,वसन्त कार्कीले १४ र मिलन बोहराले १२ रन जोडे । आर्मीका लागि जितेन्द्र मुखियाले तीन,विक्रम सोब र शहाब आलमले दुई–दुई तथा सुशन भारी र सोनु तामाङले एक–एक हात पार्दा एक विकेट रन आउटका रुपमा प्राप्त भयो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राजेको आर्मीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८२ रन बनाएको थियो । उसका लागि अर्जुन साउद र रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले ।

७३ रन बनाएका साउदले ७३ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । पौडेलले ५३ बलमा चार चौकासहित ५२ रनको योगदान दिए ।कुशल मल्ले ४३,भिम सार्कीले ३४,कप्तान विनोद भण्डारीले २८,सोनु तामाङले १६ र विक्रम सोबले अविजित १५ रन बनाए ।

सुदूरपश्चिमका लागि हेमन्त धामी,नारायण जोशी र गजेन्द्र बोहराले दुई–दुई तथा शेर मल्ल र मिलन बोहराले एक–एक विकेट लिए ।जितसँगै आर्मीले दुई खेलमा दुई अंक जोड्दा लगातार तेस्रो पराजय बेहोरेको सुदूरपश्चिम बाहिरिएको छ ।