मस्कले शुक्रबारदेखि ट्विटरका कर्मचारी निकाल्न थाले

एजेन्सी, १८ कार्तिक । सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले शुक्रबारदेखि सयौं कर्मचारीहरूलाई कामबाट निकाल्न सुरु गरेका छन् ।
ट्विटरका कर्मचारीहरूलाई गरिएको आन्तरिक इमेललाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार ठूलो संख्यामा कर्मचारी निकाल्ने प्रक्रिया मस्कले शुक्रबारदेखि थालेका हुन् ।
ट्विटरमा अहिले ७ हजार ५ सयभन्दा बढी कर्मचारी छन् । मस्कले आधा कर्मचारीलाई कामबाट निकाल्न सक्ने जनाइएको छ ।
शुक्रबारदेखि कर्मचारीहरूलाई ट्विटरले इमले गर्न थालेको छ । काम जारी राख्न पाउने कर्मचारीको अफिसियल इमेल ठेगानामा र जागिर छोड्नु पर्ने कर्मचारीलाई व्यक्तिगत खातामा इमेल आउने बताइएको छ ।
ट्विटरले आफ्ना कर्मचारीहरूले कार्यालयहरू केही समयका लागि बन्द हुने र कर्मचारीहरूले पाउने पहुँच पनि रोकिने बताएको छ । ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका मस्क मालिक बनेसँगै सिइओसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका थिए ।
ट्विटरको खर्च कटौती गर्न उनले कर्मचारी हटाउन सुरु गरेका हुन् । खर्च कटौती गर्ने, निलो टिकबापत् मासिक ८ डलर शुल्क लिने र ट्विटरबाट किनमेललगायत दैनिक जीवनका धेरै काम गर्न सकिने सुपर एप बनाउने मस्कको योजना छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


