जनकपुरधाम, १८ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदको निर्वाचनमा धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ मा दुई गठबन्धनका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले कडा टक्कर दिने भएका छन् ।

निर्वाचन नजिकिंदै जाँदा राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्र पारेसँगै स्वतन्त्र उम्मेदवार पनि कोहीभन्दा कम देखिएका छैनन् । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव, नेकपा एमालेका सचिव रघुवीर महासेठ र जनता समाजवादी पार्टी नेपालका महाजन यादवजस्ता दिग्गज नेताहरुकाबीच स्वतन्त्र उम्मेदवारको रुपमा २७ वर्षीय हास्य कलाकार कृष्णकुमार महतोले पनि उम्मेदवारी दिएका छन् ।

दुई गठबन्धनका नेताहरु दलीय प्रतिस्पर्धी गरिरहँदा स्वतन्त्र उम्मेदवार महतोको पनि व्यापक जनसमर्थन बढिरहेको छ । क्षेत्रका प्रायः सबै चुनावी कार्यक्रममा दलका नेताले स्वतन्त्र उम्मेदवारको विपक्षमा बोलिरहँदा अधिकांश समर्थकहरू भने स्वतन्त्र उम्मेदवार कृष्णको लागि दिनरात मिहिनेत गरिरहेका छन् ।

कृष्णले आफ्नो प्रतिस्पर्धीको रूपमा कसैलाई हेर्दैनन् । उनले कांग्रेस, एमालेलगायतका पार्टीका नेताहरूले केही नगरेपछि आफू स्वतन्त्र उम्मेदवार बनेको बताए । आफू दलीय व्यवस्थाको विरोधमा नभए पनि संविधानले दिएको अधिकार प्रयोग मात्रै गरेको कृष्णको भनाइ छ ।

‘लोकतन्त्रमा सबैभन्दा ठूलो जनता हो । रानवीतिक दललाई ठूलो बनाउने पनि जनताले हो । जनता सर्वोपरि हो, उनले भने, ‘अहिले जनता धेरै बुझ्ने भएका छन् । जातीयता र वर्गीयताको नाममा कसैले भ्रामक प्रचार नगरे हुन्छ ।’

रेडियोग्राफी पढेका धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरका कृष्णले आफू जनताको काम गर्नका लागि उम्मेदवार बनेको बताउँछन् ।
कृष्ण अहिले दैनिक रुपमा गाउँगाउँमा गएर आफ्ना एजेण्डा सुनाउँदै मत मागिरहेका छन् ।

धनुषा–४ मा २०५१ र २०५६ सालको संसदीय चुनाव हारेका महासेठ २०६४ सालको उपचुनावमा जित्न सफल भएका थिए । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा नेकपा एमालेबाट चुनाव लडे पनि तत्कालीन संघीय समाजवादी फोरमका सञ्जय साहसँग उनी पराजित भएका थिए ।

२०७४ मा वाम गठबन्धनका उम्मेदवार महासेठ विजयी भएका थिए । उनले २२ हजार ५३२ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १९ हजार ९९१ मत ल्याएका थिए । त्यस्तै, तत्कालिन संघीय समाजवादी फोरम नेपालका महाजन यादव १९ हजार ६६२ मत ल्याएर तेस्रो भएका थिए ।

२०६४ सालमा संविधानसभाको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ४ बाट पराजित महासेठ त्यसपछि धनुषा ५ मा भएको उपचुनावमा विजयी भए । २०७० सालको चुनावमा क्षेत्र नम्बर ५ बाटै उम्मेदवार बनेका उनी पुनः पराजित भए ।

त्यस्तै, २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेका महेन्द्र यादव २०७४ मा भने प्रत्यक्षतर्फ पराजित भएका थिए । २०७४ सालको चुनाव हुनुअघि उनी खानेपानी मन्त्री बनेका थिए ।