महोत्तरी–३ : विगतका सहयात्री एक अर्काविरुद्ध लड्दै, बृषेश मतदाता भेट्दै

महोत्तरी, १८ कार्तिक । आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर–३ लाई चासोका साथ हेरिएको छ । यो निर्वाचन क्षेत्रमा ‘हेबीवेट’ मानिएका लोसपाका अध्यक्ष महन्थ ठाकुरदेखि तमलोपाका अध्यक्ष बृषेशचन्द्र लाल, जसपाका हरिनारायण यादव, एमालेबाट बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका रामआधार कापरलगायत चुनावी मैदानमा छन् ।
जसपा–एमाले गठबन्धनबाट जसपाकै हरिनारायण यादव उम्मेदवार छन् भने तमलोपाका अध्यक्ष लाल पनि सोही पदमा प्रतिस्पर्धी बनेका छन् । अर्थात् विगतका सहयात्रीहरु नै यसपालि एक अर्काविरुद्ध लड्दैछन् ।
ठाकुरलाई उनकै लामो समयदेखिका सहयात्री लालको उपस्थितिले चुनौती थपिएको छ । ठाकुर २०७४ को चुनाव लड्दा लाल उनको सहयोद्धाको रुपमा साथ दिएका थिए ।

विगतमा ठाकुरको अध्यक्षतामा नेपाली कांग्रेसबाट विद्रोह गरी तमलोपा गठन हुँदा लालसमेत त्यसमै थिए । तमलोपाबाट राजपा बन्दा पनि लाल सँगै थिए भने राजपाबाट जसपा र जसपाबाट अलग भएर लोसपा बन्दासम्मसमेत सँगै रहेका लाल पछिल्लो समय आफ्नै नेतृत्वमा पुरानो तमलोपालाई ब्युँताएका छन् ।
२०२८ सालदेखि नै ठाकुर र लाल कांग्रेसको राजनीतिबाट चिनजान भएका र एकअर्कालाई सहयोग गर्ने नेता हुन् । यसपालिको निर्वाचनमा दुबैजनाबिचको राजनीतिक सम्बन्ध चिसिएको छ । लालले ठाकुर मधेश आन्दोलनप्रति धोका दिने व्यक्ति रहेकोले आफूले उनको साथ छोडेको बताउँछन् ।
लाल भन्छन्, ‘ठाकुरसँग अलग हुनु हाम्रो बाध्यता छ । हामी सुरुदेखि सँगसँगै थियौं अहिले पनि हामीबिच कुनै व्यक्तिगत विवाद छैन । व्यक्तिगत लडाई छैन राजनीतिक लडाई हो । अहिले पनि उहाँसँगै राम्रो सम्बन्ध छ । तर, उहाँले आफ्नो सिद्धान्त र विचारलाई छाडिदिएपछि राजनीतिक रुपमा मात्र हामी अब अलग भएका हौं ।’

लाल मंसिर ४ को निर्वाचनका लागि उत्साहित छन् । उनी मतदातासँग भेटघाटका लागि घरदैलोमा जाँदा मतदाताको रुझान आफूप्रति देखेको पाउँदा चुनाव जित्नेमा विश्वस्त छन् ।
लालले शुक्रबार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोका लागि पुग्दा जनताको पूर्ण समर्थन आफूले पाइरहेको देखेको बताउँछन् ।
लालले भने, ‘आगामी निर्वाचनमा कडा टक्कर दिने प्रतिस्पर्धी म छु । घरदैलोमा जाँदा मलाई जनताको समर्थन पनि तिब्रगतिमा बढ्दै गएको छ । मतदाताहरुले जसपाका उम्मेदवार हरिनारायण यादव पहिले पनि संविधानसभाको सदस्य भई कृषिमन्त्री समेत बनेपनि जनतालाई केही डिलेवरी दिन नसकेको व्यापक जनगुनासो बढेको पाइन्छ । त्यसैले यसपालिका वृषेश सबभन्दा उपयुक्त उम्मेदवारको रुपमा सामान्य जनमा चर्चा छ ।’
मतदाताहरुले पनि महन्थ ठाकुरलाई लालले नै मुख्य चुनौती दिएको बताइरहेका छन् ।

प्रतिनिधिसभा सदस्य पदका उमेदवार लाल अहिले जनसमर्थन बटुल्न घरदैलोमा व्यस्त देखिएका छन् । आफ्नो क्षमता र दक्षतालाई उच्च प्राथमिकतामा राख्दै जनताको घरआँगनमा घुम्न उनी व्यस्त बनेका हुन् ।
मतदाताले स्वस्फूर्त रुपमा समर्थन जनाउँदै उनलाई स्वागत गरिरहेका छन् । लाललाई ठाँउठाँउमा मतदाताहरुले खादा र अबीर टिका लगाएर समर्थन गर्दै आइरहेको पाइएको छ ।
उनले चुनावी घरदैलोका क्रममा मतदाताहरुबाट पाइरहेको स्वागत र समर्थनले आफूलाई थप जिम्मेवार बनाएकाले जनताको भरोसा टुट्न नदिने गरि काम गर्ने वाचा पनि गरेका छन् ।

आगामी निर्वाचनका लागि महोत्तरी–३ मा विभिन्न राजनीतिक दलका १० र स्वतन्त्रतर्फ ११ गरी कुल २१ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।
त्यस क्षेत्रमा एकडारा गाउँपालिकाका ५ वटा वडा, मटिहानीका ९ वटै वडा, जलेश्वरको १२ वटै वडा, पिपरा गाउँपालिकाका ६ वडा र मनरा सिस्वा नगरपालिकाका ३ वडा गरी कूल ३५ वडा रहेका छन् भने कूल मतदाता संख्या ९९ हजार ९३० रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


