साफ महिला यु–१५ च्याम्पियनसिपमा नेपालको फराकिलो जित

काठमाडौं, १७ कार्तिक । बंगलादेशमा जारी साफ महिला यु–१५ च्याम्पियनसिपमा नेपालले फराकिलो जित हात पारेको छ । नेपालले बिहीबारसम्पन्न खेलमा भुटानविरुद्व ७–०को फराकिलो जित हात पारेको हो ।
ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा नेपाललाई जित दिलाउन वर्षा ओलीले चार, सुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरे ।
खेलको पहिलो मिनेटमै वर्षाले नेपाललाई अग्रता दिलाएकी थिइन् । १७औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाइन् ।
३४औं मिनेटमा वर्षाले ह्याट्रिक पूरा गर्दा नेपाल ३–०ले अघि बढ्यो । ३५औं मिनेटमा उनैले व्यक्तिगत चौथो गोल गरेपछि टोलीले पहिलो हाफमै ४–० को आरामदायी अग्रता बनाएको थियो ।
६५औं मिनेटमा सुक्रियाले गोल गर्दा नेपाल ५–० ले अघि बढ्यो । ६७औं मिनेटमा गोलरक्षक दीक्षा राईले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि भुटना १० खेलाडीमा समेटियो ।
७२औं मिनेटमा सुक्रियाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरिन् । ८५औं मिनेटमा सेनुले गोल गरेपछि नेपालले ७–० को फराकिलो जित निकाल्यो ।
यो जितसँगै विजयी सुरूवात गरेको नेपालले तीन अंक जोड्दा लगातार दोस्रो पराजय बेहोरेको भुटान अंक विहिन छ । उसले आयोजक बंगलादेशसँगको पहिलो खेल ८–०ले गुमाएको थियो
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


