काठमाडौं, १५ कार्तिक । एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंमा उनको बयान सकिएको हो ।

उनको मुद्दा मंगलबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो । उनीविरूद्ध बुधबारदेखि थुनछेक बहस हुनेछ ।

सरकारी वकिलको कार्यालयले सन्दीपविरूद्धको मुद्दा सोमवार अदालतमा दर्ता गरेको थियो । प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्ध अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

सन्दीपले भदौ ५ गते गौशालास्थित एक होटलमा पु¥याई जबरजस्ती करणी गरेको आरोप लगाउँदै युवतीले भदौ २१ गते सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

त्यसबेला क्रिकेट खेल्न केन्या पुगेका सन्दीपलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।