जनकपुरधाम, १५ कार्तिक । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरि निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता २०७९’ जारी गरेको छ ।

मधेस प्रदेश सरकारले स्वतन्त्र तथा नियमनकारी भूमिका निर्वाह गर्न चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको परिकल्पना गरेको अवस्थामा मधेस प्रदेशमा भने बोर्डकै एक सदस्य दल तथा उम्मेदवार विशेषको प्रचारप्रसार गरिरहेका छन् ।

चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डका सदस्य पुष्पा यादवले धनुषा निर्वाचन क्षेत्र नम्बर–४ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महाजन यादव र ४(क)को प्रदेशसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्रकुमार यादवको पक्षमा खुलेरै मत मागिरहेकी छन् ।

सदस्य यादव उम्मेदवार यादवद्वयको पक्षमा मत माग्न घरदैलोमासमेत पुग्ने गरेकी छन् । साथै उनले आफ्नो फेसबुकमा पनि जनता समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेशसभा सदस्य पदको उम्मेदवार ज्ञानेन्द्रका लागि मत मागिरहेकी छन् ।

जबकि निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले खुलेआम राजनीतिक दल तथा उम्मेदवारको प्रचार प्रसार गर्न नपाउने स्पष्ट उल्लेख गरिएको छ ।

उक्त दफाको (क) मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । सोही दफाको (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारमा सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ ।

तर बोर्डका सदस्य यादवले भने उम्मेदवारसँगै देखिने गरिनै माला लगाएर अगाडि अगाडि हिंड्दै प्रदेशसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्रको प्रचार गरिरहेकी छन् ।

यस सम्बन्धमा सदस्य यादवले आफू कुनैपनि उम्मेदवारको प्रचारप्रसार अथवा घरदैलोमा नगएको बताइन् ।

प्रचारप्रसारमा बालबालिकाको व्यापक प्रयोग

त्यस्तै, १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न/गराउन नहुने निर्वाचन आचारसंहितामा स्पष्ट उल्लेख छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेको छ । तर, ठीक त्यसको विपरीतका गतिविधि व्यापक रूपमा भइरहेका छन् ।

प्रायः हरेका दलका उम्मेदवारले आ–आफ्नो प्रचारप्रसारमा बालबालिकालाई नै बढी प्रयोग गरिरहेका छन् । उम्मेदवारी दर्ता गरिएको दिनदेखि नै उम्मेदवारले बालबालिकाको प्रयोग गरिरहेको देखिएको छ ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपालसहित सबै पार्टीको चुनाव चिह्न अंकित पोशाक लगाएर हिँडेका कार्यकर्ता पनि बजारमा छ्यापछ्याप्ती भेटिएका छन् ।

उम्मेदवारले आचारसंहिताविपरीत आफ्नो चुनावी प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरेको पाइएको छ । उम्मेदवारले बालबालिकालाई पर्चा वितरणदेखि भित्तामा पोस्टर टाँस्नसमेत प्रयोग गरेको देखिन्छ ।

साभार : फरकधार