जनकपुरधाम, १४ कार्तिक । जसलाई थोरबहुत पनि ज्ञान छ, ऊ यस देशका सातवटै प्रदेशहरुको नामबाट अब अनभिज्ञ छैन होला । देश संघीयतामा गइसकेपछाडि तपाईंले प्रधानमन्त्रीकै पत्नीलाई प्रदेशहरुको नाम थाहा छैन भन्ने कुरा सुन्नुभयो भने पक्कै आश्चर्य लाग्न सक्छ होला ।

सोमबार यस्तै भएको छ । छठ पर्वमा सहभागी हुन आइतबार जनकपुरधाम आएकी आरजु राणा देउवाले सोमवार पत्रकारहरुसँगको भेटघाटमा ‘मधेस प्रदेश’ को नामको सट्टा पटक पटक ‘प्रदेश नम्बर २’ भनिरहिन ।

जबकी ‘प्रदेश नम्बर २’ को नामाकरण ‘मधेस प्रदेश’ भएको एक वर्ष बित्नलागेको छ । २०७८ माघ ३ गतेनै ‘प्रदेश नम्बर २’ को नामाकरण ‘मधेस प्रदेश’ भइसकेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य आरजु यसबाट अझै अनभिज्ञ छन् ।

राणाले पत्रकारहरुसँगको भेटघाटमा पटक पटक ‘प्रदेश नम्बर २’ भनिरहँदा पत्रकारहरुले प्रदेशको नामाकरण ‘मधेस प्रदेश’ भइसकेको जानकारी गराएपछि उनले, ‘यो कहिले भयो? मलाई त थाहै भएन’ भन्दै झन अनभिज्ञता जनाइन् ।

सम्बोधनको क्रममा उनलाई यस प्रदेशको मात्र नभई अन्य प्रदेशको नामसमेत थाहा नभएको कुरा प्रष्ट भएको पाइयो ।

उनले बोलिरहँदा आफू मातृ तथा शिशुको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको र प्रदेश नम्बर २ तथा प्रदेश नम्बर ७ मा छुट्टै शिशु अस्पताल खोल्न पहल गरिरहेको जानकारी दिँदै नामाकरण भइसकेका प्रदेशहरुको पुरानै नाम दोहोराएकी थिइन् । जबकी अहिले यस देशमा प्रदेश नम्बर–१ बाहेक अन्य सबै प्रदेशको नामाकरण भइसकेको कुरा विद्यालयमा पढ्ने साना बालबालिकाहरुलाई समेत जानकारी भइसकेको छ ।

२०७८ माघ ३ गते बसेको प्रदेशसभा बैठकले नै प्रदेश नम्बर २ को नाम मधेस प्रदेश राखियो । प्रदेशसभाको दुई तिहाइभन्दा बढी मतले ‘मधेस’ नाम पारित गरिएको थियो । प्रदेशसभामा भएको मतदानमा दुई तिहाइभन्दा बढी मतबाट ‘मधेस प्रदेश’को प्रस्ताव पारित भएको थियो ।