जनकपुरधाम, १४ कार्तिक । रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहले देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था जस्ताको त्यस्तै रहेको बताएका छन् ।

सोमबार जनकपुरधाममा आयोजित ‘स्वतन्त्र उम्मेदवार जिताउ अभियान वृहत कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै साहले स्वतन्त्रहरुको उम्मेदवारी दलीय सिण्डिकेटविरुद्ध परिवर्तनका लागि रहेको बताएका छन् ।

उनले भने, ‘मलाई त दुवै गठबन्धनले बोलाइरहेको छ । तर पनि म गइन । त्यसको एउटै कारण जनतालाई दलीय सिण्डिकेटबाट मुक्ति दिनु हो ।’

उनले देशका लागि दलको रिमोटबाट चल्ने संसद भन्दा जनताका लागि केही गर्न सक्ने संसद आवश्यक रहेको र त्यस्तो परिवर्तन स्वतन्त्रहरुबाट मात्र हुनसक्ने दाबीसमेत गरेका छन् ।

उनले स्वतन्त्रहरुको उम्मेदवारी चुनाव जित्नका लागि मात्र नभई दलिय सिण्डिकेटले निर्मित अपवित्र गठबन्धनविरुद्धसमेत रहेको जिकिर गरे । पूर्वमन्त्रीसमेत रहेका साहले आफू देशको राजनीतिक समस्या समाधान गर्न स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

कार्यक्रममा स्वतन्त्र अभियानका सहयोगी बद्री न्यौपानेले सत्ता र पदलाई कायम राख्नका लागि ठूला दलले अपवित्र गठबन्धन गरेको आरोप लगाए ।

स्वतन्त्र उम्मेदवार श्रीलाल महासेठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनुषा–३ का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार उमेश साह, महोत्तरी ३ (क) प्रदेशसभाका स्वतन्त्र उम्मेदवार सुनिल रोहित लगायतकाहरुले देशमा परिवर्तनका निम्ति स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।