काठमाडौं, १४ कार्तिक । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

सोमबार भएको खेलमा प्रदेश–१ लाई ७ विकेटले हराएको हो । मुलपानी क्रिकेट मैदानमा प्रदेश–१ ले दिएको १०३ रनको लक्ष्य पछ्याएको पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

पुलिसका लागि कुशल भुर्तेलले ४२ रनको योगदान गरे । त्यस्तै शंकर रानाले २९ रन बनाउँदा राशिद खानले अविजित १६ रन जोडे ।

प्रदेश–१ का फिर्दोस अन्सारी र सिदान्त लोहनीले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १०२ रन बनाएको थियो ।

प्रदेश–१ का लागि निरज मुखियाले सर्वाधिक २९ रनको योगदान गरे । त्यस्तै अंकित सुवेदीले २४ रन बनाउँदा विवेक मेहेताले १७ रन जोडे । पुलिसका ललित राजवंशीले पाँच विकेट लिए । त्यस्तै सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले दुई/दुई विकेट लिए ।

जितसँगै पुलिसले २ खेलमा ४ अंक जोडेर समूह बीको शीर्ष स्थानमा छ । यता प्रदेश–१ ले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।