काठमाडौं, १४ कार्तिक । नेपाली पब्जी टिम डीआरएसले ग्लोबल इस्पोर्टस फेडेरेसनको आयोजनामा हुन लागेको विश्व च्याम्पियनसिप ग्लोबल स्पोर्टस गेम्सका लागि छनोट भएको छ ।

आइतबार भएको एसियाली छनोट पार गरी डीआरएसले डिसेम्बरमा टर्कीको इस्तानबुलमा हुने प्रतियोगिताका लागि आधिकारिक मान्यता पाएको हो । आआफ्नै बुट क्याम्पमा बसेर भएको प्रतिस्पर्धामा नेपाल शीर्ष चारभित्र रहेर विश्वस्तरीय प्रतिस्पर्धाका लागि छानिएको हो ।

समूहमा ८ देशका टिमबीच प्रतिस्पर्धा भएको थियो । मंगोलिया, चाइनिज ताइपेई, भियातनाम र नेपाल छनोट हुँदा ब्रुनाई, पाकिस्तान, माल्दिभ्स र श्रीलंका पराजित भएको हो । डीआरएसका दीपेश गुरुङ, साहस भण्डारी, सुविन कुमार प्रजापती, समीर गुरुङ र संगीन भट्टराईको टिमले एसियन छनोटमा जित हासिल गरेको हो । यो टिम आसन्न एसियाली खेलकुदका लागि नेपालको प्रतिनिधित्व गर्ने तयारीसमेत गर्दैछ ।

डीआरएसलाई घरेलु छनोट प्रतियोगिता विना नै विदेशमा खेल्न अनुमति दिइएकोमा अन्य टिमले विरोध जनाएका छन् । तर, नेपाल इस्पोर्टस संघका अध्यक्ष सुरज डंगोलले भने संघको मापदण्डअनुसार नै डीआरएसले अनुमति पाएको दावी गरे ।

संघले वर्षमा एकपल्ट आफैंले गर्ने राष्ट्रिय प्रतियोगिताको नतिजाका आधारमा वर्षभरि हुने वैदेशिक प्रतियोगिताका लागि टिमलाई अवसर लिने मापदण्ड बनाइएको जानकारी दिए ।

गत सेप्टेम्बरमा काठमाडौंमा भएको राष्ट्रिय प्रतियोगितामा हाइ भोल्टेज टिमले उपाधि जितेको थियो भने डीआरएस उपविजेता बनेको थियो ।

सोही आधारमा हाइ भोल्टेजले अन्तर्राष्ट्रिय इस्पोर्टस फेडेरेसन (आईएसएफ)ले इण्डोनेसियाको बालीमा आयोजना गर्न लागेको विश्व च्याम्पियनसिपका लागि अनुमति पाएको थियो । तर, दक्षिण एसियाली छनोटमै सो टिम पराजित भयो ।

आईएसएफ र जीएसएफ इस्पोर्टसमा समान गतिविधि गर्ने विश्वस्तरीय महासंघ हुन् । नेपालले दुवै महासंघको मान्यता लिएको छ । तर, एसियाली खेलकुद, ओलम्पिकजस्ता आधिकारिक प्रतियोगितामा सहभमागिताका लागि आईएसएफमार्फत जानुपर्नेछ ।