काठमाडौं, १३ कार्तिक । निर्वाचन आयोगले आफ्नो उम्मेदवारी रद्ध गरेकोमा डा.तोसिमा कार्कीले आपत्ति जनाएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ मा उम्मेदवार बनेकी डा. कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

आफूले उम्मेदवारी मनोनयनअघि नै मेडिकल काउन्सिलको सदस्य पद लाभको पद होकि होइन भनेर निर्वाचन आयोगलाई पत्र पठाए पनि आयोगले जवाफ दिन आवश्यक नठानेको डा.कार्कीको भनाइ छ ।

उति बेला जवाफ दिन आश्यक नठानेको तर अहिले आफ्नो पक्षमा माहोल बनेपनि उम्मेदवारी खारेज गरिदिएको उनको गुनासो छ ।
कार्कीले आयोगलाई मेडिकल काउन्सिलको सदस्यपद लाभको पद होकि होइन निर्णय दिन भन्दै भदौ २८ गते आयोगलाई पत्र पठाएकी थिइन् ।

उम्मेदवारी दर्ता गर्नु भन्दा निकै पहिले दिएको निवेदनउपर कुनै निर्णय नगरी अहिले उम्मेवारी रद्धको निर्णयलेआयोगको शंका उब्जिएको उनले बताइन् ।

आयोगको निर्णयविरुद्ध अदालत जाने निर्णय गर्दै उनले आफ्ना समर्थक तथा शुभचिन्तकलाई बिचलित नहुन आग्रह गरेकी छन् । कार्कीले सरकारी लाभ लिएको पुष्टि भएकाले उम्देवारी खारेज भएको निर्वाचन आयोगका उपसचिव गुरु वाग्लेले जानकारी दिए । डा.कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य छन् ।

उपसचिव वाग्नेका अनुसार डा.कार्कीले काउन्सिलको सदस्यका रुपमा गरेको विभिन्न अनुगमनमा भत्ता लिएको देखिएको छ । उनले बुझाएको सम्पत्ति विवरणमा समेत गत भदौ महिनादेखि यता देखि अहिलेसम्म १ लाख २६ हजार भत्ता लिएको देखिएको वाग्लेले बताए । सदस्य पदबाट लाभ लिएको पुष्टि भएपछि उम्मेदवारी खारेज गरिएको उनको भनाइ छ ।