एजेन्सी, १३ कार्तिक । अस्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित निकालेको छ । उसले आज सम्पन्न सुपर १२ अन्तर्गतको खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको हो ।

९२ रनको लक्ष्य पाकिस्तानले १३.५ ओभरमा मात्र ४ विकेट गुमाउँदै भेट्टायो । उसका लागि मोहम्मद रिजवानले ३९ बलमा ५ चौकासहित सर्वाधिक ४९ रनको योगदान दिए । फखर जमानले २० तथा शान मसुदले १२ रन बनाए ।

नेदरल्याण्ड्स ब्रान्डन ग्लोभरले २ तथा पाउल भानले १ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । त्यसअघि पर्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रन जोडेको थियो ।

नेदरल्याण्डसका लागि कोलिन एकरम्यानले सर्वाधिक २७ रनको योगदान दिए । कप्तान स्कट एडवार्डले १५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका शादब खानले ३, मोहम्मद वासिमले २ तथा शहिन शाह अफ्रिद, नीशम शाह र हरिस रौफले १/१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यो जितसँगै ३ खेलमा २ अंक जोडेको पाकिस्तान पाँचौं स्थानमा रहँदा तीनै पराजयका साथ अंक विहीन नेदरल्याण्ड्स पुछारमा छ ।