मधेसका ५ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन टुट्यो

जनकपुरधाम, ११ कार्तिक । मधेस प्रदेशका पाँच निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन दलका उम्मेदवारहरुबीच नै प्रतिस्पर्धा हुने भएको छ ।
मधेसको पाँच क्षेत्रमा सहमति हुन नसक्दा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका तीन निर्वाचन क्षेत्रमा गठबन्धनका दलका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने भएको हो ।
सत्ता गठबन्धनका दलहरुबीच सहमति नहुँदा पाँच क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने गठबन्धन दलहरुले जनाएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीबीच यी क्षेत्रमा सहमति जुट्न सकेको छैन् ।
जसअनुसार धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस र एकीकृत समाजवादीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । त्यहाँ नेपाली कांग्रेसबाट रामकृष्ण यादव र एकीकृत समाजवादीबाट रामचन्द्र झा उम्मेदवार छन् ।
त्यस्तै, सर्लाही क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतो एकअर्काका प्रतिस्पर्धी हुने भएका छन् ।
त्यस्तै, मधेसका ३ प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि सहमति हुन सकेको छैन । सर्लाही क्षेत्र नं १ (क)मा माओवादी केन्द्रले रामचन्द्रसिंह कुशवाह र लोसपाले उपेन्द्र महतोलाई उम्मेदवार बनाएका छन् ।
त्यस्तै, बारा क्षेत्र नं १ (ख)मा कांग्रेसले नागेन्द्रप्रसाद कानू र एकीकृत समाजवादीले बतहु यादवलाई उम्मेदवारका रूपमा अगाडि सारेका छन् । पर्सा क्षेत्र नं ३ (ख)मा कांग्रेसका जनार्दनसिंह क्षेत्री र एकीकृत समाजवादीका प्रह्लाद गिरी उम्मेदवार रहेका छन् ।
त्यस्तै, सिरहा क्षेत्र नं ३ (ख)मा कांग्रेसले सञ्जयप्रकाश यादव र एकीकृत समाजवादीले प्रमोद यादवलाई उम्मेदवार बनाएका छन् । महोत्तरी क्षेत्र नं २ (क)मा एकीकृत समाजवादीले मञ्जु यादव र लोसपाले जयनुल राइनलाई उम्मेदवार बनाएका छन् ।
मधेस प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ सीट र प्रदेशसभाका लागि ६४ सीट छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


