एजेन्सी, १० कार्तिक । अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत बंगलादेशविरुद्ध दक्षिण अफ्रिका १०४ रनले विजयी भएको छ । दक्षिण अफ्रिकाको यो पहिलो जित हो । उसले पहिलो खेल वर्षाका कारण जिम्बाब्वेसँग अंक बाँडेको थियो ।

बंगलादेशको यो पहिलो हार हो । उसले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको बंगलादेशले १६.३ ओभरमा सबै विकेट गुमाएर १ सय १ रन मात्र बनाउन सक्यो ।उसका लागि लिटन दासले सर्वाधिक ३४ रन बनाए । बाँकी ब्याटरको प्रदर्शन कमजोर रह्यो ।

दक्षिण अफ्रिकाका लागि एनरिक नोर्टजेले चार, तरबिज शाम्सीले तीन, केशव महाराज र कागिसो रबाडाले एक/एक विकेट लिए ।त्यसअघि सिड्नी क्रिकेट ग्राउन्डसमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनायो । उसका लागि रिली रुसोले शतकीय पारी खेले ।

५६ बलको सामना गरेका उनले ८ छक्का र ७ चौकासहित १०९ रन बनाए । योसँगै रुसो जारी विश्वकपमा शतक बनाउने पहिलो ब्याटर बनेका छन् । टी–२० अन्तर्राष्ट्रियमा भने उनको यो दोस्रो शतक हो ।

त्यस्तै, ओपनर क्विन्टन डिककले पनि उत्कृष्ट पारी खेले । ३८ बलको सामना गरेका उनले सात चौका र तीन छक्कासहित ६३ रन बनाए ।एडन मार्कम १० रनमा अविजित रहे । बंगलादेशका लागि शाकिवअल हसनले दुई, हसन महमुद, अफिफ हुसेन र तस्किन अहमदले एक/एक विकेट लिए ।