एजेन्सी, ९ कार्तिक । स्पेनिस क्लब सेभियाले च्याम्पियन्स लिगमा जित हात पारेको छ । उसले समूहञजीझअन्तर्गतको खेलमा डेनिस क्लब एफसी कोपेनहेगनविरुद्व ३–० को सहज जित हात पारेको हो ।

घरेलु मैदान रमोन साञ्चेज पिज्जुआनमा सेभियालाई जित दिलाउन युसेफ एन–नेसिरी,इस्को र गोञ्जालो मोन्टियलले १/१ गोल गरे । खेलको ६१ औं मिनेटमा नेसिरीको गोलमार्फत सेभियाले अग्रता लिएको थियो । ८८ औं मिनेटमा इस्कोले टोलीको अग्रता दोब्बर बनाए ।

थप गरिएको समयमा मोन्टियलले गोल गरेपछि सेभियाले ३–०को सहज जित निकाल्यो । थप गरिएकै समयमा डेविट खोचोलभाले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि कोपेनहेगन १० खेलाडीमा समेटिएको थियो ।

यो जितसँगै ५ खेलमा ५ अंकका साथ तेस्रो स्थानमा रहेको सेभियाले अन्तिम १६ को सम्भावना जिवित राखेको छ । पराजयसँगै समूह चरणबाटै बाहिरिएको कोपेनहेगन समान खेलबाट २ अंकका साथ अन्तिममा छ ।

यही समूहको अर्काे खेलमा म्यानचेस्टर सिटी र बोरूसिया डर्टमन्ड गोलरहित बराबरीमा रोकिएका छन् ।