एजेन्सी, ९ कार्तिक । च्याम्पियन्स लिगको समूहञइझ अन्तर्गतको खेलमा इंग्लिस क्लब चेल्सीले जित हात पारेको छ । उसले मंगलबार राति अस्ट्रियन टोली आरबी साल्जबर्गविरुद्व २–१ को रोमाञ्चक जित हात पारेको हो ।

यो जितसँगै चेल्सीले अन्तिम १६ मा स्थान पक्का गरेको छ । साल्जबर्गको घरेलु मैदान रेडबुल एरिनामा चेल्सीलाई जित दिलाउन माटियो कोभासिस र काइ हाभर्टेजले १/१ गोल गरे ।

घरेलु टोलीका लागि जुनियर अडामुले १ गोल फर्काए । खेलको २३औं मिनेटमा कोभासिसको गोलमार्फत चेल्सीले सुरुवाती अग्रता लिएको थियो ।

४८औं मिनेटमा अडामुले साल्जबर्गलाई १–१ को बराबरीमा ल्याए । ६४ औं मिनेटमा हाभर्टेजले गोल गरेपछि पाहुना टोलीले २–१ को रोमाञ्चक जित निकाल्यो ।

यो नतिजासँगै ५ खेलमा १० अंक जोडेको चेल्सी शीर्ष स्थानमा रहँदा पराजित साल्जबर्ग समान खेलबाट ६ अंंकका साथ तेस्रो स्थानमा छ । यहि समूहको अर्काे खेलमा एसी मिलानले डिनामो जाग्रेबविरुद्ध ४–०को फराकिलो जित निकाल्यो ।