इंग्ल्याण्डविरुद्ध आयरल्याण्ड ५ रनले विजयी

काठमाडौं, ९ कार्तिक । अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी–२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध आयरल्याण्ड ५ रनले विजयी भएको छ । ऊ डकवर्थ लुइस पद्धतिको आधारमा विजयी भएको हो । १४.३ ओभरको अवस्थामा वर्षा बाधक बनेपछि आयरल्याण्डलाई विजेता घोषणा गरियो ।
आयरल्याण्डले टी–२० विश्वकपमा पहिलोपटक इंग्ल्याण्डलाई हराएको हो । बुधबार भएको पहिलो खेलमा आयरल्याण्डले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १४.३ ओभरमा ५ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।
उसका लागि डेविड मलानले ३५, मोइन अलीले अविजित २४ र ह्यारी ब्रुकले १८ रन जोडे । कप्तान जोश बटलर (०), एलेक्स हेल्स (७) र बेन स्टोक्स (६) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
आयरल्याण्डका लागि जोस लिटलले दुई, जर्ज डकरेल, ग्यारेथ डेल्नी, फिओन ह्यान्ड र ब्यारी म्याकार्थीले एक/एक विकेट लिए ।त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्डले १९.२ ओभरमा सबै विकेट गुमाएर २ सय ५७ रन बनायो । उसका लागि कप्तान एन्डी बलबर्नीले अर्धशतकीय पारी खेले ।
४७ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाए । टी–२० अन्तर्राष्ट्रियमा बलबर्नीको यो सातौँ अर्धशतकीय पारी हो । त्यस्तै, लोर्कान टकरले ३४, कर्टिस क्याम्फरले १७, पउल स्टर्लिङले १४ र ग्यारेथ डेलानीले १२ रन जोडे ।इंग्ल्याण्डका लागि अलराउन्डर लियाम लिभिङस्टोनले उत्कृष्ट बलिङ गरे ।
जारी विश्वकपमा आयरल्याण्डको यो पहिलो जित हो । ऊ पहिलो खेलमा श्रीलंकाविरुद्ध ९ विकेटले पराजित भएको थियो । इंग्ल्याण्डको यो पहिलो हार हो । उसले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


