धनगढी, ६ कार्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र र लोकतन्त्रलाई बचाउन सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनु आवश्यक रहेको बताएका छन् ।

आइतबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय संयुक्त भेलामा बोल्दै उनले एमालेसहितको गठबन्धनले जिते देश अस्थिरताको भुमरीमा फस्ने र अहिलेका उपलब्धि गुम्ने खतरा रहेको भन्दै त्यस्तो जोखिमबाट बचाउन वाम लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताए । सत्ता गठबन्धनले हारेमा देश संकटमा पर्ने देउवाको दाबी छ ।

उनले सुदूरपश्चिमबाट सत्तारुढ गठबन्धनलाई जितको सफलता मिल्ने अपेक्षा राखेकोसमेत बताए । ओलीले संसद् विघटन गरेर संविधानलाई समाप्त पार्न खोज्दा सुदूरपश्चिम बाटै सबैभन्दा बढी विरोध भएको र संविधान स्मरण गर्दै ४ मंसिरपछि सुदूरपश्चिमवासीले ओलीलाई पाखा लगाउने बताए ।

उनले सुदूरपश्चिमबाट गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउनसमेत आह्वान गरेका छन् । देश अहिले गम्भीर मोडमा पुगेको भन्दै उनले चुनावपछि देश कता जाने भन्ने थाहा हुने बताए ।