मन्त्रीले नै सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरी चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै

बारा, ५ कार्तिक । संघीय मन्त्रीले सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर चुनावी प्रचारप्रसारमा प्रयोग गरेको पाइएको छ ।
आचारसंहिता उल्लंघन गर्दै खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले चुनावी प्रचारप्रसारका निम्ति सरकारी गाडीको दुरुपयोग गरेको पाइएको हो ।
बारा क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका चौधरीले चुनावी प्रचारप्रसारका निम्ति सरकारले मन्त्रीलाई दिएको गाडीको नम्बर परिर्वतन गरेर प्रयोग गरेका छन् ।
मन्त्री चौधरीले रातोनिलो भएको बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरी बा १२ च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गर्दै आएका हुन । बारा जिल्ला घर भएका मन्त्री चौधरी केही हप्तादेखि बारामै छन् ।
उनले चुनावी प्रचारप्रसारका निम्ति समेत सरकारी गाडी प्रयोग गर्दै आएको एक स्थानीय राम एकबाल चौधरीले बताए ।
चौधरीले भने, ‘मैले पहिले मन्त्रीज्यूको यहीँ गाडीमा सरकारी नम्बर देखेको थिएँ । विगत तीन चार दिनबाट निजी नम्बर देखेँ । प्रहरी नै मन्त्री अघिपछि हुन्छ । प्रशासन मौन छ, कसले कारबाही गर्ने खै ?’
निर्वाचन २०७९ प्रयोजनका लागि जारी भएको आचारसंहितामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


