काठमाडौं, ४ कार्तिक । चालू आर्थिक वर्षको दोस्रो महिनाको अन्त्यसम्ममा स्वास्थ्यमा १० प्रतिशतले महँगी बढेको छ ।

केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आवको पहिलो दोस्रो महिनाको अन्त्यसम्मको तथ्यांक अनुसार स्वास्थ्यमा १० प्रतिशतले महँगी बढेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२२.६८ रहेको मुद्रास्फीति यो आर्थिक वर्षको दोस्रो महिनामा बढेर १३५.६१ पुगेको हो ।

समीक्षा महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा र घरायसी उपयोगका वस्तु उपसमूहको मुद्रास्फीति क्रमशः २३ दशमलव ४१ प्रतिशत नौ दशमलव २५ प्रतिशत, आठ दशमलव ११ प्रतिशत र सात दशमलव ६९ प्रतिशत रहेको छ ।

चालू आवको पहिलो दोस्रो महिनाको अन्त्यसम्ममा तराईमा उपभोक्ता मुद्रास्फीति नौ दशमलव ३३ प्रतिशत बराबर रहेको छ । केन्द्रीय बैंकका अनुसार २०७८ भदौमा तराईको उपभोक्ता मुद्रास्फीति ३ दशमलव ६५ प्रतिशत बराबर थियो । गत भदौ महिनामा काठमाडौँ उपत्यकामा ७ दशमलव ६२ प्रतिशत पहाडमा ८ दशमलव ८२ प्रतिशत र हिमालमा ६ दशमलव ६८ प्रतिशत मुद्रास्फीति रहेको छ ।

बैंकका अनुसार २०७८ भदौ महिनामा काठमाडौँ उपत्यकामा ३ दशमलव २३ प्रतिशत, पहाडमा ३ दशमलव ९६ प्रतिशत र हिमाली क्षेत्रमा ३ दशमलव ५१ प्रतिशत बराबरको मु्द्रास्फीति थियो ।

यस्तै भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ६४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ८ दशमलव १७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९ दशमलव ०२ प्रतिशत रहेको छ ।

विसं २०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेन्ट तथा होटल, मदिराजन्य पेयपदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७ दशमलव २९ प्रतिशत, १४ दशमलव ५३ प्रतिशत, १२ दशमलव ३० प्रतिशत, १० दशमलव २४ प्रतिशत र ९ दशमलव ९४ प्रतिशत रहेको छ ।